नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम २०८०” मा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको सम्बोधन

0
138

१ माघ २०८०, सन्धिखर्क यस कार्यक्रमका अध्यक्षज्यू, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रीज्यू,
नेपाल सरकारका पूर्व मन्त्रीज्यूहरू,प्रतिनिधि सभा पूर्व उपसभामुखज्यू,प्रतिनिधि सभा र प्रदेशसभाका माननीय सदस्यहरू, नेपाल प्रहरीका महानिरीक्षकज्यू,
जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखज्यू,स्थानीय तहका प्रमुख, उपप्रमुखज्यूहरू, प्रमुख जिल्ला अधिकारीज्यू, राष्ट्रसेवक कर्मचारी साथीहरू,
उद्योगी व्यवसायी संघ–संगठनका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू,उपस्थित आदरणीय जनसमुदायहरू ।
सबै भन्दा पहिले नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दै आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम २०८० को पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।
नेपालको राजनीतिक आन्दोलनमा अर्घाखाँची जिल्लाको अग्रणी भूमिका रहेको कुरा यहाँहरूलाई अवगत नै छ । राणाशासन र पञ्चायत व्यवस्थाविरोधी आन्दोलन, जनयुद्ध÷जनआन्दोलनमा यस जिल्लाले खेलेको भूमिका अर्थपूर्ण र नेतृत्वदायीसमेत छ ।
जिल्लाको रमणीय सुन्दर, ऐतिहासिक भूमिका निर्वाह गरेको सन्धिखर्क नगरपालिकाको यस टुंडिखेलमा तपाईहरूबीच नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले उपस्थित हुन पाउँदा गौरवको महशुस गरेको छु ।

यो महत्वपूर्ण अवसरका निम्ति नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखा, जिल्ला समन्वय समिति, जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र एवं सम्पूर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु ।

यस अवसरमा पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवद्र्धन कार्यक्रम २०८०” को भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
प्राकृतिक दृष्टिले अथाह सम्भावना, मनोरम प्राकृतिक दृश्यहरू एवं पर्यटन प्रवर्धनको प्रचुरता रहेको यस जिल्ला विकासका दृष्टिले ओझेलमा परेको कुरा तपाईहरूले महशुस गर्नुभएको कुरा मलाई राम्रोसँग बोध छ ।

त्यसैले पनि जिल्लाका सम्भावनाहरूको प्रत्यक्ष अवलोकन र अध्ययन एवं विकासका क्षेत्रमा सङ्घीय सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका निम्तिसमेत यो कार्यक्रम महत्वपूर्ण रहेको मैले महशुस गरेको छु ।

अर्घाखाँची जिल्लासँग म राम्रोसँग परिचित छु । महान् जनयुद्धको थालनीपूर्व, जनयुद्धको महत्वपूर्ण समय र शान्ति प्रक्रियाको अवधिमा पनि म पटकपटक अर्घाखाँचीमा आउने, यहाँको राजनीतिक नेतृत्व र जनसमुदायसँग साक्षात्कार गर्ने एवं जिल्लाको विकासका निम्ति आफ्नो ठाउँबाट सम्भव सहयोग गर्ने काम गर्दै आएको छु ।

शितगंगा नगरपालिकाको सिद्धारा, जेलुका, जुकेना, जिल्लाकै ऐतिहासिक अर्घा दरबार लगायतका ऐतिहासिक एवं पर्यटकीय गन्तव्यहरूमा उपस्थित भएको छु । यस अर्थमा पनि अर्घाखाँचीसँग मेरो राजनीतिक एवं भावनात्मक सामिप्यता छ ।

यसकारण पनि मैले अर्घाखाँचीको विकास र समृद्धिका निम्ति आफ्नो ठाउँबाट सम्भव योगदान गर्दै आएको छु । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण जाँदा २४५ मेगावाटको बहुआयामिक नौमुरे जलविद्युत परियोजना बनाउने सम्झौता भएको थियो ।

ततपश्चात नेपाल सरकारको विभागीय मन्त्रालयमार्फत उक्त कार्य अगाडि बढाउन कार्यालय स्थापना गरिएको थियो । त्यसैगरि विश्वभरिका पर्यटकहरूको आगमनलाई सहज तुल्याउन लुम्बिनी हुँदै सालझण्डी, सन्धिखर्क, ढोरपाटन सडक निर्माण, खानेपानी, विद्युतीकरण, सिँचाइ, कृषि सीप तथा रोजगारमुलक कार्यक्रम लागू गरेको थिएँ । त्यसैगरि मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा समेत जिल्लाको विकासका निम्ति नीति, कार्यक्रम र बजेटमा केही रणनीतिक काम र योजनाहरू समावेश गरिएको थियो ।

ती प्रयासहरू यस जिल्लाको विकासका निम्तिसमेत महत्वपूर्ण रहँदै आएका छन् ।
यस कार्यक्रममा मभन्दा अगाडि बोल्ने वक्ता साथीहरूले जिल्लाको विकासबारे महत्वपूर्ण विषयहरू राख्नुभएको छ, त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । मुख्यतः गोरुसिङ्गे, सन्धिखर्क सडक निर्माणका निम्ति आवश्यक बजेटको प्रबन्ध, अर्घाखाँची अस्पतालको थप जनशक्ति र प्रविधिसहित स्तरोन्नति, जिल्लाको शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पस, निर्माणाधीन अर्घा–भगवती विमास्थल, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक, गच्छे भालुवाङ सडक लगायतका रणनीतिक परियोजनाहरू सम्पन्न गर्न सङ्घीय सरकारको सहयोग रहनेछ ।

त्यसैगरि सन्धिखर्क, शितगंगा र भूमिकास्थान नगरपालिका र मालारानी, छत्रदेव र पाणिनी गाउँपालिकाको विकासका निम्ति सङ्घीय सरकारको ध्यान जाने विषय पनि म तपाईहरूलाई स्पष्ट पार्न चाहन्छु ।
यस कार्यक्रममा जिल्लाका सबै राजनीतिक दल, जनप्रतिनिधि, निजी क्षेत्र, सामाजिक संघसंस्था र सञ्चारकर्मीहरूबीच देखिएको हार्दिकता र विकासका पनि सहकार्यको संस्कृतिबाट म विशेष रूपले आकर्षित भएको छु । सहकार्यको यस प्रकारको संस्कृतिले जिल्लाको विकासका निम्ति मात्रै योगदान गर्दैन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्दै समाजवादको आधार निर्माणका निम्तिसमेत महत्वपूर्ण योगदान गर्दछ भन्ने मेरो ठहर छ ।

जिल्लाको विकासका लागि पर्यटन पूर्वाधारको विकास, पर्यटन गन्तव्यको पहिचान र तिनको प्रचारप्रसार अति आवश्यक छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा रहेका पर्यटकीय क्षेत्रहरू पर्वतीय पर्यटन, पर्यावरण पर्यटन, धार्मिक पर्यटन, अनुसन्धानमुलक पर्यटन, साहसिक पर्यटन, खेल पर्यटन तथा सांस्कृतिक पर्यटनमध्येकै पाणिनी ऋषिले तपस्या गरेर संस्कृत व्याकरण उत्पत्ति भएको पाणिनी तपोभूमि, दुर्वाश्वर गुफा, डमरू दह, नर्तनाचल पर्वत क्षेत्र, बल्कोटको पौवा, मन्दिर लामपाटी पौवा, मथुरास्थित गोपेश्वर मन्दिर, छत्रमहाराज मन्दिर, नरसिंह थान, सुपादेउराली, मालारानी क्षेत्र, तिनधारे छहरा, अर्घादरबार तथा अर्घाभगवती मन्दिर, खाँची दरबार, सेङलेङ दह लगायतका पहिचान गरिएको पर्यटकीय गन्तव्यहरू रहेका छन् । त्यस्तै सराय नाँच, भैरव (भैराम) नाँच, लाखे नाँच, ठूलो एकादशी र माघेसङ्क्रान्तिमा बाँगीखोलाको त्रिवेणीधाममा लाग्ने मेलाहरू मौलिक सांस्कृतिक सम्पदाहरू हुन् । जिल्लाको दक्षिणको पर्यटकीय क्षेत्र लुम्बिनी, पूर्वमा पाल्पाको श्रीनगर, उत्तरमा गुल्मीको रेसुङ्गा र पश्चिममा प्युठानको स्वर्गद्वारीसहितका मनोरम प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरूले अर्घाखाँची पर्यटकीय केन्द्रका रूपमा रहेको छ । तसर्थ पनि अर्घाखाँची जिल्लाको देशकै पर्यटन प्रवर्धन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहिआएको छ ।

तपाईहरूलाई थाहै छ– मैले तेस्रोपटक सरकारको नेतृत्व गरेको १ वर्षको अवधि पूरा भएको छ । जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो, निर्वाचनबाट आएको त्रिअंकुश संसदले राजनीतिक स्थायित्व दिने÷नदिनेमा निकै ठूलो संशय थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन हुँदै गएका छन् ।

यस अवधिमा अर्थतन्त्रमा महत्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठूलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ । बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग–व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको छ । अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्दथे । तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन् । विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार आएको तथा २०२४ मा थप प्रगति हुने प्रक्षेपण गरेका छन् । यो हाम्रा लागि खुसीको कुरा हो ।

एक वर्षको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरू हासिल भएका छन् । विदेशमा रहेका र अनौपचारिक क्षेत्रका लागि श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ । देशका सबै सरकारी अस्पतालका १० प्रतिशत बेड गरिब, बिपन्न र असहाय नागरिकका लागि छुट्याउनुका साथै महिला, जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्य प्रवर्धनका नमुना कार्यक्रमहरू लागू गरिएको छ । सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको छ । नागरिकताबिहीन लाखौं नेपालीहरूलाई नागरिकता ऐन ल्याएर नागरिकता प्रदान गरिएको छ । मिटरब्याजलाई कानुनी रूपमै जघन्य अपराधको रूपमा किटानी गरी त्यसबाट पीडित लाखौं नागरिकलाई न्याय दिइएको छ ।

साथै सेवा प्रवाहको क्षेत्रमा राम्रो सुधार आएको छ । पासपोर्ट, लाइसेन्स लगायतका सेवा प्रदायक कार्यालयहरूका लामा–लामा लाइन हटेका छन् । विद्यालयमा पाठ्यपुस्तक र किसानहरूका निम्ति समयमै मल उपलब्ध गराइएको छ । विश्वविद्यालयहरूमा गुणात्मक सुधार ल्याउन खुला प्रतिस्पर्धाको प्रक्रिया सुरू भई नै सकेको छ । विगतका घाटा ब्यहोरेर टाट पल्टिन लागेका सार्वजनिक संस्थानहरू नाफामा गएका छन् । जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पको उद्दार, राहत र पुनर्निर्माणका निम्ति मैले नै विशेष पहलकदमी लिएर काम अगाडि बढिरहेको छ ।

यस अवधिमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिका क्षेत्रमा निकै राम्रो प्रगति भएको छ । भारत भ्रमण, विश्व खाद्य सम्मेलन, चीन भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा, विश्व जलवायु सम्मेलन (कोप–२८), संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण लगायतबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा गुणात्मक प्रगति हुनुका साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण पहल लिइएको छ । केही दिनमा युगान्डामा हुने असंलग्न राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गरी मैले सम्बोधन गर्दैछु । यसले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रभाव थप बिस्तार हुने मैले विश्वास लिएको छु ।

अन्त्यमा, तपाईहरूले आयोजना गरेको यस महोत्सवले अर्घाखाँची जिल्लाका साथै लुम्बिनी प्रदेशकै पर्यटन प्रवर्धन र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु । र, जिल्लाको विकासका निम्ति सङ्घीय सरकारको तर्फबाट सधै साथ र सहयोग रहने विश्वास दिलाउँदै विदा हुनु भयाे ।

गाेपी ज्ञवाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here