सुस्ता झाेलुङगे पुलमा आन्तरिक पर्यटकको भिड

0
226
Exif_JPEG_420

नवलपरासी : (बर्दघाट‐सुस्ता–पश्चिम) स्थित नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ।

सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिक रूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए।

उनका अनुसार रु २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ । सुुस्ता‐५ का वडाध्यक्ष प्रभुु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएका बताए।

“पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् । अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ”, उनले भने, “पुल निर्माणपछि आवतजावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।

यो पुल देशमै लामो भनेर प्रचारप्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो । पाल्हीनन्दन ‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउछन् ।

“सुस्ताका स्थानीयहरू सधैँ दुःखका कुरा मात्र गर्थे। अहिले पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ । हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ”, उनले आशा व्यक्त गरे ।

हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । पुल अवलोकनका लागि आउने युुवा, युवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको धवलले बताए ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here