काठमाडौं : नेकपा माओवादी केन्द्रको पश्चिम उपमहा देशीय संगठन समितिले बाढी पहिरोमा परेका पीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ।
नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओबादी केन्द्रका सचिवालयले जनाएकाे छ ।
सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनु भयो । उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णय अनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि लगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनु भयो ।
उहाँले घटना लगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागत रुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनु भयो ।
प्रसावमा रहेका पार्टी कमिटीहरुले सहयोग पठाउने कार्य सुरु गरेकोमा उहाँले खुशी व्यक्त गर्नु भयो । अध्यक्ष प्रचण्डले जनताको दःख पीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो।
यस अघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ ।
मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञापति मार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकार लगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नु भएको छ ।