नेपाल र चीन बीच भएका समझदारी कार्यान्वयन गर्नु पर्नेमा अध्यक्ष प्रचण्डको जोड

0
113

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनु भएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उहाँले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताउनु भएको हो ।

नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उहाँको भ्रमण ऐतिहासिक रहेको बताउनुभयो ।

सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उहाँले उच्च स्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उहाँले भन्नु भयो–गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं ।

ती सबै समझदारी कार्यान्वयन गरेर जानु पर्छ भन्ने पक्षमा हामी दृढ छौं ।नेपालको आन्तरिक राजनीतिमा केही उतार चढाव आए पनि आफ्नो पालामा दुई देश बीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताउनु भयो ।

उहाँले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउने लगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताउनु भयो।

आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेर नेपाली विशेषता सहितको क्रान्ति अघि बढाएको स्मरण गराउँदै उहाँले अब पनि नेपाली विशेषता सहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक रहेको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले चिनियाँ स्वाधीनको सम्मान गर्दै नेपालले निरन्तर एक चीन नीतिलाई सम्मान गर्दै आएको उल्लेख गर्दै चीनले पनि नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संवेदनशीलताका लागि धन्यवाद दिनु भयो ।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनु भएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनु पर्ने बताउनु भयो । पहिलो पटक नेपाल भ्रमणमा आउनु भएका उहाँले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिन सक्ने बताउनु भयो ।

चीनले अन्य मुलुक सँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टी बीचको सम्बन्धलाई भने महत्व दिने बताउनु भयो । चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुन सुकै नेताले पनि भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गर्ने गरेकाले चिनियाँ जनताको विश्वास बढ्दै गएको बताउनु भयो ।

भेटवार्तामा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहा सचिवद्वय जनार्दन शर्मा र शक्ति बहादुर बस्नेत, केन्द्रीय सदस्य गंगा दाहालको सहभागिता रहेको थियो। चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपाल स्थित राजदूत छेन् सोङ्ग लगायतको उपस्थिति रहेको थियो ।

Mazzimaawaz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here