नवलपरासी-जिल्लाकाे सरावल गाउँपालिका-५ स्थित धनगडवामा १५ शय्याकाे अधारभूत अस्पताल निर्माण गर्न थालिएको छ ।सरावलमा १५ शय्याको अस्पताल निर्माण गर्नका लागि सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै निर्माण गर्न थालिएकाे हो ।
यसअघि पालिकामा अधारभूत अस्पताल नहुँदा स्थानीय उपचारका लागि परासी, भैरहवा, बुटवल लगायत स्थानमा जानुपर्ने बाध्यता रहेकाे सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।यो अस्पताल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा उपचार पाउने उनले बताए।
अधारभूत अस्पतालमा पाउने सबै सेवा, सुविधा यस अस्पतालमा बिरामीलाई उपलब्ध गराइने अध्यक्ष चौधरीले जानकारी दिए।अस्पताल निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेकाले यथाशीघ्र निर्माण अघि बढाइने उनको भनाइ छ ।
सरावल–५ का स्थानीयले दुई बिघा छ कठ्ठा दुई धुर जग्गा अधारभूत अस्पताल निर्माणका लागि दान दिएकाले अस्पताल निर्माणमा जग्गाको समस्या नरहेको वडा नं ५ का वडाध्यक्ष लक्ष्मण प्रसाद चौधरीले बताए।यहाँ अधारभूत अस्पताल नहुँदा उपचारको लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको बताउँदै अस्पताल सञ्चालनमा आएपछि उपचारमा सहज पाइने स्थानीय दिनेश सहानीले विश्वास व्यक्त गरे ।