प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन,राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गर्नु भएको छ।
विपक्षी दलहरुद्धारा बुझाइएको ज्ञापनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराती ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा,भ्रष्टाचार नियन्त्रण,सुशासन र विकास निर्माणको अभियानलाइ तीब्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ।
ज्ञापनपत्र मार्फत विपक्षी दलहरुले भनेका छन्-‘सुरुवाती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झण्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको मात्र हैन सरकारको भनाइ र गराइमा कुनै तादात्म्यता देखिन छोडेको छ। सुशासन र प्रभावकारी सेवा प्रवाहका विषयमा सरकारले कुनै पनि कदम नचालेर सुशासनलाई कमजोर बनाएको छ।अदालतमा मुद्दा खेपिरहेका व्यापारीको पक्षमा स्वयं प्रधानमन्त्रीले नै पक्षपोषण गर्नु र प्रधानमन्त्रीकै दलले करिब एक अर्ब भन्दा बढी मूल्यको जग्गा गैर कानुनी रूपमा दानका रुपमा लिएर सुशासनको उपहास गर्ने कार्य भएको छ।
साथै, सरकारले लोकतन्त्रालाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरुलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको विपक्षी दलहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
गएको शुक्रबार बसेको विपक्षी दलको बैठकले ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो । बैठकले माओवादीका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल रहेको कार्यदल गठन पनि गरेको थियो ।