विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हाल सम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए ।
उनका अनुसार रु ५८ करोडको लागतमा १५ किलोमिटर सडक कालोपत्र गर्ने भनिएकामा तीन पटक पत्राचार गरे पनि ठेकेदारले थप काम अगाडि बढाएको छैन । ताकेता गर्दा पनि काम नभएपछि ठेक्का तोडेर कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी आचार्यले बताए ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आफूहरूले सडक निर्माणका लागि पटक–पटक अनशन बस्ने र विरोध प्रदर्शन मार्फत ध्यानाकर्षण गराइए पनि काम अगाडि नबढेको बताए ।
उनका अनुसार सडकको धुलो घरभित्र पस्दा सडक वरपरका स्थानीयले धुुलोबाट पीडित छन्, धुलोले आँखा चिलाउँछ , छाती दुख्ने समस्या हुन्छ ,काम गर्ने क्रममा तथा घरभित्र बस्दा नाक, मुखमा धुलो पस्छ , घर वरिपरी धुलैधुलो हुने, बिहान सफा गरेको घर बेलुका धुलै धुलोले हुने समस्या छ ।
बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्रप्रकाश उपाध्यायले लामो समयसम्म काम नहुँदा यात्रुलाई मात्रै नभइ स्थानीय बासिन्दा धुँवाधुलोले निकै समस्या भएको बताए । पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नरुल होदाले सडकको धुलोले त्यस क्षेत्रका नागरिकमा स्वासप्रस्वास, एलर्जी, आँखा चिलाउने, खोकी लाग्न जस्ता रोगको समस्या देखिने गरेको जानकारी दिए ।