आइतबार जिल्ला प्रशासन कार्यालय परासी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत ज्ञापन पत्र बुझाइएको हो । पेशागत पत्रकारहरू माथि भौतिक सुरक्षाको चुनौती समेत रहेको भन्दै ज्ञापन पत्रमा चिन्ता व्यक्त गरिएको छ ।
जनयुद्धकालमा बेपत्ता पारी हत्या गरिएका पत्रकार कृष्ण सेन इच्छुक देखि केही समयअघि भएको राजावादी समूहको आन्दोलनमा पत्रकार सुरेश रजक समेतकाे हत्यारालाई कानुनी कारवाही गर्नका लागि प्रेस सेन्टरले आग्रह गरेको छ ।
नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको र विश्वमा नेपालको प्रेस स्वतन्त्रता सूचक खस्किएको छ, ज्ञापन पत्रमा उल्लेख छ ।
यसै गरी सञ्चार सँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भइरहेको,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी विधेयक ल्याउने कसरत भैरहेकोले त्यस्ता कार्य रोकेर सरोकारवाला सँग समन्वयमा अघि बढाउन प्रेस सेन्टरले अनुरोध गरेको छ ।
जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापन पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार नवलपरासीमा ज्ञापन पत्र बुझाएको सेन्टरका नवलपरासीकी विष्णु खनालले बताइन ।
ज्ञापन पत्र बुझेर आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनु भयाे।