यस वर्ष नहरमा पानी समयमै आएपछि किसानहरू जेठको दोस्रो साता देखि रोपाइँमा ब्यस्त भएकाे कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले बताए ।
जिल्लाका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका भित्रका कृषक बिहान आठ बजे देखि साझ पाँच बजे सम्म धान रोपाइँ गरेका छन् ।
यस वर्ष समयमा मनसुन भित्रिए सँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ गर्दा मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का राम मिलन कुर्मीले बताए ।
नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिए । उनका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।
गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिए । धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उनको भनाइ छ ।
“बढी मात्रामा धानखेती हुने रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका हाे । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा धान भन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हाे उनले भने ।