स्वास्थ्य शिविरमा विभिन्न रोगका ३१ सय ८० जना मध्ये १३ सय ५९ जना पुरुष र १८ सय २१ जना महिला विरामीहरुलाई चेक जाँच गरिएको छ ।
स्वास्थ्य परिक्षणमा पहुँचकम भएका र विशेषज्ञ चिकित्सकको सेवा पाउनबाट बञ्चित रहेका ग्रामीण क्षेत्रका स्थानीयहरुलाई लक्षित गरेर निशुल्क शिविर सञ्चालन गरेको गोरख दल गणका मेजर उदय राज कार्कीले बताउनु भयो।
देवदह मेडिकल कलेजको सहकार्यमा नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगन्नाथपुर स्थित श्री गणेश मा.वि.को प्राङगणमा गोरख दल गणले एक दिने बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको हो। पश्चिम नवलपरासी सीमावर्ती तथा ग्रामीण क्षेत्रमा साधारण स्वास्थ्य परीक्षण देखि नाक, कान, घाँटी, छाला, हाडजोर्नी, आँखा, दाँत, बालरोग, स्त्री तथा प्रसूति रोग लगायत परीक्षण गरिएको थियो।

विभिन्न रोगका १७ जना विशेषज्ञ डाक्टर सहित ५४ जना स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परिक्षण शिविरमा खटिएका थिए। स्वास्थ्य परीक्षण गराएका सेवा ग्राहीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो।
शिविरमा १२ प्रकारका रोगको विशेषज्ञ सेवा उपलब्ध गराउनुको साथै ८ लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको छ ।स्वास्थ्य शिविरको उदघाट २२ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री ललित बहादुर कुँवरले गर्नु भयो ।