नवलपरासी।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-६ का गङ्गा सागर यादवले उखु खेती छोडेर आलु, केरा र तरबुजा खेती शुरू गरेका छन।
उँखु खेतीमा लागत बढी लाग्ने र चिनी मिलले समयमा भुक्तानी नदिएपछि उखु खेती छोडेर १४ बिघा जग्गामा व्यावसायिक आलु, केरा र तरबुजा खेती शुरू गरेको यादवले बताए ।
उनी, “पाँच वर्ष देखि आलु खेती गर्दै आएका छन्। चार बिघा जग्गामा आलु खेती गरिरहेको बताउँदै उनले गत वर्ष डेढ बिघा जग्गाबाट उत्पादित आलु बिक्री गरी छ लाख ५० हजार आम्दानी भएको जानकारी दिए ।
अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारलाई समय दिएर पनि उत्पादन लिन सकिने भएकाले आलु, केरा र तरबुजा खेती गरेको उनको भनाइ छ।यो आर्थिक वर्ष भारतबाट आउने केराले स्थानीय केरा उत्पादनले बजार नपाएपछि घाटा लागेको उनले बताए ।
रामग्राम नगरपालिका-१० का उमाशङ्कर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलु खेती गर्दै आएका छन्। तोरी बालीको तुलनामा आलु खेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उनी चार वर्षदेखि व्यावसायिक आलु खेतीमा जोडिएका हुन् ।
आलु खेतीका लागि उपयुक्त वातावरण सँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलु खेती गरेको चौधरीले बताए ।
उनका अनुसार गत वर्ष पाँच लाखको आलु बिक्री भएको थियो । “एक कठ्ठामा करिब पचास किलो मात्र तोरी उत्पादन हुन्छ भने आलु आठ क्विन्टल उत्पादन हुन्छ”, उनले भने।
पाल्हीनन्दन गाउँपालिका-४ का रामसेवक कुर्मीले तीन वर्ष देखि दश कठ्ठा जग्गामा व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
जिल्लाको रामग्राम, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिका क्षेत्र आलु खेतीका लागि माटोसँगै सिँचाइको व्यवस्था भएकाले उत्पादनका दृष्टिले सम्भावना बेकेका क्षेत्रका रूपमा तोकिएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका वरिष्ठ बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी उमाशङ्कर पौडेलले बताए ।
पौडेलका अनुसार व्यावसायिक आलुखेती प्रवर्द्धनका लागि किसनालाई बाली विशेष आयोजनातर्फको कार्यक्रमबाट ५० प्रतिशत अनुदान दिने गरिएको छ । जिल्लामा पाँच हेक्टर जमिनमा व्यावसायिक आलु खेती भइरहेको केन्द्रले जनाएको छ ।
यहाँ उत्पादित आलुले अन्य समयमा बजारको करिब ६० प्रतिशत माग धाने बाँकीका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था रहेको पौडेलले बताए ।